Techie IT
गृहपृष्ठसमाचारआगामी तीन महिना यी पाँच प्रदेशमा हुनेछ सरदरभन्दा बढी वर्षा

आगामी तीन महिना यी पाँच प्रदेशमा हुनेछ सरदरभन्दा बढी वर्षा


जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ सम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।

विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

वर्षाको आकलन

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छ भने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेश प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस