२० हजार भन्दा बढीले गरे श्राद्ध
रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाममा २० हजार भन्दा बढीले श्राद्ध गरेका छन् ।
त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पौष कृष्ण औँसी (गया औंसी) को दिन करिव २० हजारले श्राद्ध गरेका बेत्रावतीका स्थानीय गणेश श्रेष्ठले बताउनुभएको छ । परलोक भएका आफ्ना बाबु–आमा तथा आफन्तको नाममा बिहानै देखि हजारांै भक्तजनहरुले नदि किनारमा श्राद्ध गरेका थिए ।
बिहानीपख चिसोका कारण कम भएपनि दिउँसो भक्तजन बढेका थिए । वर्षेनी हजारौं भक्तजनहरुले मृत्यु भएका आफ्ना बाबु–आमा तथा आफन्तको नाममा श्राद्ध, दान, तर्पण गर्दछन् । पितृको नाममा श्राद्ध गर्ने भक्तजनहरु वर्षेनी बढ्दै गएको श्रेष्ठले बताउनुभएको छ ।
पौषे औँसीमा यहाँ आउने भक्तजन बढ्दै गएको र विशेषगरी तीनवटा जिल्लाका भक्तजन बढी आउँछन् । पछिल्लो समय उत्तरगया धाममा जलविद्युत आयोजना बन्ने भएपछि समस्या आएको उहाले बताउनुभएको छ ।
पितृको उद्धारको लागि यस क्षेत्रमा पाँचौ पटक श्राद्ध गर्न आएको धादिङका शंकर प्रसाद रुपाखेतीले बताउनुभएको छ । यस स्थानमा आइ परलोक भएका आफ्ना बाबु आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृ मोक्ष्यप्राप्ति गरि स्वर्गजाने जनविश्वास रही आएको छ ।
पितृको नाममा हिन्दू धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरुले मृत्यु भएका आफन्तका नाममा लामाहरूले मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन् । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तर गया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउंलाई बेत्रगंगा भनेर मानिएको छ ।
उक्त नदीमा श्राद्ध गरेमा पितृहरु उद्धार भई स्वर्ग जाने विश्वासले धेरै भक्तजनहरु यस स्थानमा श्राद्ध गर्न आएका हुन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस