त्रिशुली अस्पताल’ यस वर्ष पनि न्युनतम सेवा मापदण्डमा नेपालकै उत्कृष्ठ ठहरियो
नुवाकोटको जिल्ला अस्पताल ‘त्रिशुली अस्पताल’ यस वर्ष पनि न्युनतम सेवा मापदण्डमा नेपालकै उत्कृष्ठ ठहरिएको छ । यो सहित तीन वर्षदेखि त्रिशुली अस्पताल न्युनतम सेवामा देशै भरी लगातार पहिलो हुँदै आइरहेको छ ।
एक सयमा यस वर्ष ९६ अंक ल्याइ त्रिशुली अस्पताल उत्कृष्ठ भएको स्वास्थ्य विभागका बरिष्ठ नर्सिङ प्रशासक बाला राईले जानकारी दिइन् । न्युनतम सेवा मापदण्डमा त्रिशुली अस्पतालले अघिल्लो वर्ष (२०७८ सालमा) ९४ अंक ल्याई देशकै पहिलो भएको थियो ।
२०७७ सालमा ८८ अंक ल्याई पहिलो पटक त्रिशुली अस्पताल देशकै पहिलो भएको थियो । यस वर्ष पनि त्रिशुली अस्पताल देशै भरीको सरकारी अस्पतालमा पहिलो भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताएका छन् । बर्दियाको जिल्ला अस्पतालले यसपालि ९५ प्रतिशत अंक प्राप्त गरेकोमा त्रिशुली अस्पतालले ९६ प्रतिशत अंक प्राप्त गरी देशै भरी पहिलो भएको झाले बताए ।
शुक्रवार त्रिशुली अस्पतालमा आयोजित ‘अस्पतालको गुणस्तर सुधारको लागि न्युनतम सेवा मापदण्ड फलोअप समीक्षा’ कार्यक्रममा त्रिशुली अस्पतालले प्राप्त गरेको अंक घोषणा भएको हो । न्युनतम सेवा मापदण्ड परिक्षणका लागि संघीय सरकारको स्वास्थ्य विभाग र बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका उच्चपदस्थ अधिकारीहरुले दुई दिन त्रिशुली अस्पतालको अनुगमन गरेका थिए ।
त्रिशुली अस्पताल ‘हब हस्पिटल’ को रुपमा विकास हुनु, अस्पताल आफैले ‘ब्लड बैंक’ सञ्चालन गर्नु, नेपाल सरकारका सबै नीति र निर्देशनको अंक्षरश पालना हुनु, तीन वटै तहका सरकारसंग प्रभावकारी सहकार्य र समन्वय हुनु, अस्पताल आफ्नै ‘अक्सिजन प्लाण्ट’ हुनुले पहिलो बनाउन बढी सहयोग मिलेको बताइएको छ । त्रिशुली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राजु पण्डितका अनुसार ओपिडी सेवा विस्तार भएको, जिल्ला अस्पतालमा हुने भन्दा बढी सेवा (आइसियु, एनआसियु) जस्ता माथिल्लो तहको सेवा हुनुले त्रिशुली अस्पताललाई देशै भरीको सरकारी अस्पतालमा पहिलो बन्न सघाएको छ ।
उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेन्द्र श्रेष्ठले त्रिशुली अस्पतालले प्रदान गरिरहेको सेवाका कारण आफुहरुलाई समेत काम गर्ने प्रेरणा जाग्नेगरेको बताएका छन् । ५० बेडको जिल्ला अस्पतालको रुपमा रहेको त्रिशुली अस्पताल आफ्नै सेवाका कारण क्षेत्रियस्तरको देखिएको उनले बताए । ‘अब हामी छिट्टै त्रिशुली अस्पताललाई एक सय बेडको बनाउने छौं’, श्रेष्ठले भने, ‘अघिल्ला प्रदेश सांसद हिरानाथ खतिवडा खुब धाउनु भयो यो अस्पताललाई सय बेडको बनाउन, महिनाको दुई पटक जत्ति आउनुहुन्थ्यो, अब त्रिशुली अस्पताललाई एक सय बेडको बनाउने अन्तिम तयारीमा छौं’ श्रेष्ठले भने ।
साथै उनले न्युनतम सेवाको मापदण्ड जाँच गर्दा ९६ प्रतिशत मात्रै आएकोमा अझै सरकारी अस्पतालले न्युनतम सेवामा पनि ४ प्रतिशत काम गर्न बाँकी नै रहेको स्मरण गराए । आफु सरकारी अस्पतालहरुको न्युनतम सेवाको अवस्था हेर्न बागमती प्रदेशका सबै जिल्ला अस्पतालमा भ्रमण गरेको अनुभव सुनाउँदै उनले रामेछाप जिल्ला अस्पतालको समेत प्रशंसा गरे । एक वर्षको बीचमा रामेछाप अस्पतालले समेत व्यापक सुधार गरेको र अब विस्तारै सरकारी अस्पतालहरु सेवा दिने सन्र्दभमा अब्बल ठहरिन थालेको उनले बताएका छन् ।
स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले नेपालमा सरकारी अस्पतालहरुले प्रदान गरिरहेको गुणस्तरिय सेवाले निजी अस्पताललाई पछाडी पार्न थालेको बताए । उनले काठमाडौंका नाम चलेका निजी अस्पतालहरुले समेत त्रिशुलीबाट सिक्नुपर्ने बताएका छन् । ‘ग्राण्डी, नर्भिक जस्ता अस्पतालहरुले अब हाम्रो सेवा र गुणस्तर हेरोस्’ झाले भने, ‘ति अस्पतालहरुलाई समेत त्रिशुलीमा आएर हेर्न र सिक्न अनुरोध गर्छु ।’
नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले त्रिशुली अस्पतालको व्यवस्थापन र सेवा प्रदानको अवस्था अब्वल रहेको बताएका छन् । सरकारी कार्यालय भइकन सेवा प्रदान गर्ने सन्र्दभमा अस्पतालले देखाउने तदारुकता र गतीले आफुलाई सधैं अचम्मित पार्ने गरेको उनले बताएका छन् ।
त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले लगातार तेश्रो वर्षसम्म नेपालकै पहिलो नम्वरमा अस्पताल रहेको प्रति आफ्नो बढी जिम्मेवारी थपिएको बताए । अहिले अस्पतालले दिइरहेको सेवामा कमी आउला वा गुणस्तर खस्किएला भन्ने चिन्ता बढी रहेको उनले बताए । बिरामीलाई उपचारको सेवा दिने देखि प्रशासनिक काम समेत गर्नुपर्ने भएकोले अस्पतालका कर्मचारीहरुलाई देशकै पहिलो नम्वरको अस्पतालको गरिमा बचाउन र नागरिकहरुको बढ्दो आकांक्षा पुरा गर्ने थप चुनौती रहेको डा. पाण्डेले बताएका छन् ।
अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजु पण्डितले विशेषज्ञ डाक्टरहरुलाई अस्पतालमा निरन्तर रुपमा राख्न नसक्नु मुख्य चुनौती रहेको बताएका छन् । सिमित आयआर्जन रहेको व्यवस्थापन समितिले एक सय प्रतिशतसम्म भत्ता दिएर विशेषज्ञहरु जिल्लामा टिकाइराख्न मुस्किल परेको उनले बताए । बिरामीलाई बेहोस बनाउने डक्टर जिल्ला अस्पतालबाट केही दिन अघि मात्रै गएकाले अप्रेसन गर्ने काम हिजोआज रोकिएकोले तत्कालै व्यवस्था गर्न र सेवा सुचारु गराउन उनले स्वास्थ्य विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयको ध्यानाकर्षण गराएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस