Techie IT
गृहपृष्ठसमाचारविद्यालयमा परम्परागत पहिरन

विद्यालयमा परम्परागत पहिरन

बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।


मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो । विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी सबैले हरेक हप्ताको बुधबार आ–आफ्नो जातअनुसारको पहिरन लगाउनैपर्ने गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताउनुभयो ।

“जातीय पहिचानका रूपमा विशेषगरी पहिरनलार्ई लिने गरिन्छ । चाडपर्व, मेला, महोत्सव, घुमफिरमा जाँदा आधुनिक पोसाक लगाउने बानी बसिसकेको अवस्था छ । विद्यालय आउँदा विद्यालयको पोसाक अनिवार्य गरिएको छ । आफ्नो मौलिक पहिरनका बारेमा बालबालिका अनभिज्ञ हुने भएकाले पालिकाले यस्तो निर्णय गरिएको हो”, अध्यक्ष तामाङले भन्नुभयो, “मौलिक पहिरनका बारेमा बालबालिकालाई जानकारी दिन, जातीय÷सांस्कृतिक पहिरनको संरक्षण गर्न यो अभियान सुरु गरिएको हो । जसले गर्दा बालबालिकालाई एकअर्का बीचको जातीय पहिरनका बारेमा पनि जान्ने अवसर सिर्जना हुने अपेक्षा गरेको छु ।” गाउँपालिकाको शिक्षा ऐन, २०७८ बमोजिम सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन गर्न थालिएको हो । पालिकामा २२ वटा सामुदायिक विद्यालय र दुईवटा निजी विद्यालय रहेका छन् । शिक्षा ऐनअनुसार आंशिकरूपमा भए पनि हरेक हप्ताको बुधबार सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन हुने गरेको शिक्षा अधिकृत शेरसिंह रावतले बताउनुभयो । “चालु शैक्षिक सत्रको सुरुआतदेखि नै हरेक हप्ताको बुधबार मौलिक पहिरनमा विद्यालय सञ्चालन गर्ने भन्ने शिक्षा ऐन लागू भएको हो । हालसम्म शतप्रतिशतमा लागू भइसकेको अवस्था भने होइन । यस अभियानलाई शतप्रतिशत पु¥याउन निरन्तर विद्यालयहरुलाई झक्झकाइरहेका छौँ”, रावतले भन्नुभयो, “प्रायः निजी विद्यालयहरूले हप्तामा एक दिन बाहिरी पोसाकमा विद्यालय सञ्चालन गरिरहेको हुन्छन् । त्यसलाई अनुसरण गर्दै बाहिरी पोसाकमा पनि मौलिकता झल्कने पोसाकमा जोड दिन सकियो भने परम्परागत संस्कृतिको जगेर्ना हुन्छ भनेर यो शिक्षा ऐन ल्याएका हौँ । विद्यार्थीहरू पनि फरक पहिरनमा खुसी हुन्छन् ।” पाठ्यपुस्तकमा परम्परागत जातीय पहिरन, संस्कार, संस्कृतिका बारेमा प्रशस्त उल्लेख गरिएको हुन्छ । विद्यार्थीहरूले सैद्धान्तिकरूपमा त्यस विषयको ज्ञान लिइरहेको हुन्छ । हप्तामा एक दिन मौलिक पहिरनमा विद्यालय सञ्चालन हँुदा व्यावहारिक ज्ञान विद्यार्थीहरूले प्राप्त गरिरहेको म्यागङ गाउँपालिका–२ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिखर अधिकारीको बुझाइ छ ।

“भदौ महिनादेखि विद्यार्थीहरूलाई मौलिक पहिरनमा नै पढाउन थाल्यौँ । त्यस समयमा सबै विद्यार्थीसँग आफ्नो जातअनुसारको पहिरन उपलब्ध थिएन । दसँैपछि भने सबै विद्यार्थीले उत्साहका साथ मौलिक पहिरन लगाएर आउने गरेका छन्,” प्रधानाध्यापक अधिकारीले भन्नुभयो, “हाम्रो विद्यालयमा विशेषगरी तामाङ, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पढ्न आउँछन् । उनीहरूमा पहिरनको विविधता हुँदा एकअर्काबीच नै सिकाइ भइरहेको हुन्छ । व्यावहारिक शिक्षाका रूपमा पनि यसलाई लिने गरेको छु । अभिभावकबाट पनि सकरात्मक प्रतिक्रियाहरू आइरहेको हुन्छ ।”


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस