Techie IT
गृहपृष्ठसमाचारबेलकोटगढी ७ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

बेलकोटगढी ७ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 


आर्थिक वर्ष २०७९/८० को सुरुवातदेखि हाल सम्म वडा कार्यलयले सञ्चालन गरेको योजनाहरु तथा र कार्यन्वयनको अवस्थाको बारेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ ले नागरिकहरुलाई जानकारी गराएको छ ।
वडा कार्यालयको आयोजना तथा संकल्प नुवाकोटको संयोजनमा शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष भुबनेश्वर नेपालले प्राप्त बजेट, योजना र कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । सिमिति श्रोत साधनको उच्चतम प्रयोग गर्दै वडा कार्यलयले कार्य गर्दै आएको बताउनुहुदै वडा अध्यक्ष नेपालले विकास निर्माणको कार्यमा नागरिकबाट निरन्तर खबरदारीको अपेक्षा गरेको बताउनुभएको छ । चालु आर्थिक वर्षमा वडामा प्राप्त भएको प्राय सबै बजेट मार्फत योजनाहरुको कार्य सम्मपन्न भइ भुक्तानी समेत भइसकेको बताउनुभएको छ । वडाबाट सिफारिस लिन कुनै झनझट नभएको र त्यसो भएको खण्डमा प्रत्यक्ष रुपमा जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ ।
साथै कार्यक्रममा वडा सचिब सुरेश सिलवाले चालु आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर ७ मा ८४ वटा जन्म दर्ता, ८० वटा विवाह दर्ता, ३४ जनाको मृत्यु दर्ता भएको र २ जनाले बसाई सरेर अन्यत्र गएको बताउनुभएको छ । साथै, वडा कार्यलयबाट यस आर्थिक वर्षमा विभिन्न शिर्षकबाट १२ लाख ३५ हजार ५ सय रुपैयाँ राजष्व उठेको बताउनुभएको  छ ।
नगरपालिकाका उपमेयर शिव प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाईमा नगरपालिकाले प्रवाह गर्ने सेवा लगायत नगरपालिकाबाट वितरित योजनाको कार्यान्वयनका विषयमा सर्वसाधारणले राखेको जिज्ञासाको उपमेयर दाहालले जवाफ दिनुभएको थियो । उपमेयर दाहालले नगरपालिकाले गर्ने हरेक काम जनसमुदायसम्म पहुँच पुग्ने ढंगले प्रवाह भैरहेको भन्दै नगरले गर्ने हरेक कामलाई पारदर्शी रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । उपमेयर दाहालले साधन र स्रोतको अभावका बीच पनि प्राथमिकताका आधारमा योजना छनोट गरेर विकास निर्माणलाई अघि बढाउँदै जाने नगरपालिकाको योजना रहेको बताउनु भएको थियो ।
कार्यक्रममा बेलकोटगढी नगरपालिका कार्यलयका योजना शाखा प्रमुख शिबराम अभिकारी, नगर कार्यपालिका सदस्य गमला लामा, वडा सदस्य मनबिर मिजार, प्राबिधिक प्रतिक्षा केसी लगायतले नागरिकहरुको गुनासोलाई सम्बोधन गर्नुभएको थियो । सहभागीहरुले वडा भित्र भइरहेको विकास निर्माण कार्य, फोहोर मैला व्यवस्थापन, वडा तथा स्वास्थ्य सस्था लगायत सरकारी निकाले गरिरिहेको सेवा प्रबाहको बारेमा गुनासो गरेका थिए ।

क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस