Techie IT
गृहपृष्ठसमाचारनागरिकता नियमावली अन्तिम चरणमा

नागरिकता नियमावली अन्तिम चरणमा


उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम मस्यौदा पूरा भइसकेको र आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने जानकारी दिनुभएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम खाका मन्त्रीपरिषद्मा पेस हुने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “वास्तविक नेपाली नागरिकले नागरिकता पाउन सक्नेलाई नागरिकता दिने अवसर खुला भएको छ । अब धेरै समस्या त्यति बाँकी छैनन् । यसलाई हामीले नियमावलीमार्फत हल गर्छौं । नियमावलीको सम्पूर्ण खाका पूरा भइसकेको छ, हामी यही वा अर्को हप्ता क्याबिनेट लैजाँदै छौँ । त्यसमा कानुन मन्त्रालयको अन्तिम राय बाँकी छ ।”

मन्त्री श्रेष्ठले नागरिकता पाउने नेपालीले नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको जानकारी दिनुभयो । उहाँले नेपाली महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनु पर्छ भन्ने संविधान र कानुनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताउनुभयो ।

“नेपालमा दुई वटा कोणबाट नागरिकताको विवाद हुँदै आयो, एउटा त जेनियुन, जसले नागरिकता पाउनुपर्ने हो, तिनले पनि दुःख पाउने, उनीहरूले नागरिकता नपाउने, नागरिकता नपाउँदा जीवनै बर्बाद हुने कुरा हल गर्नका लागि नागरिकता ऐन आएको छ । अब ती समस्या रहँदैनन्, त्यसलाई कम्प्लिट गर्ने काम नियमावलीबाट हुन्छ,” गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “नेपाली नागरिक महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनु पर्छ भन्ने कुरा अहिले संविधान र कानुनसँग मेल खाँदैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन । यसलाई सरलीकृत गरिएको छ । पहिला अङ्गीकृतका लागि पनि निस्सा चाहिन्थ्यो, अहिले स्वघोषणा भए पुग्छ ।” उपप्रधानमन्त्री श्रेष्ठले अङ्गीकृतका लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी गर्नुभयो ।

Source:- Gorkhapatraonline


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस