अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने
अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले उक्त निर्णय गरेका हुन् । उक्त निर्णय कार्यान्वयनका लागि आइतबार मात्र नेपाल राष्ट्र बैंकलाई पत्र पठाइएको अर्थ मन्त्रालयको प्रवक्ता धनिराम शर्माले बताए ।
अब राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र उक्त निर्णय कार्यान्वयन हुनेछ । उक्त निर्णय कार्यान्वयनमा आएपछि तत्काल बैंकहरुमा करिब ६० अर्ब रुपैयाँ थपिनेछ ।
बैंकहरुले गत असार मसान्तसम्म स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्दै आएका थिए । अर्थ मन्त्रालयले निर्णय नगरेकै कारण साउन १ देखि भने उक्त सुविधा खोसिएको थियो । अहिले यसअघिको ८० प्रतिशतको सीमा घटाएर ६० प्रतिशत बनाएर फेरी उक्त सुविधा निरन्तर गरिएको हो ।
निर्णयमा यो सुविधाको अवधि नतोकिए पनि क्रमशः घटाउँदै लैजाने भन्ने रहेको अर्थ मन्त्रालयका प्रवक्ता शर्माले बताए । यसरी प्राप्त रकमका आधारमा बैंकहरुले प्रवाह गर्ने कर्जाको सदुपयोगिताबारे अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको र समितिको सुझावका आधारमा यो सुविधा निन्तरता हुने नहुनेबारे निर्णय हुने प्रवक्ता शर्माको भनाइ छ ।
स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत बैंकलाई निक्षेपमा गणना गर्न दिनेबारे अर्थ मन्त्रालयको निर्णयको पत्र भर्खरै प्राप्त भएको राष्ट्र बैंक स्रोतले पुष्टि गरेको छ । उक्त निर्णय कार्यान्वयनका लागि केहीदिन भित्रै निर्देशन जारी गर्ने राष्ट्र बैंक स्रोतले जनायो ।
कान्तिपुर बाट शाभार
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस