नुवाकोटमा समाजवादी मोर्चाको सन्देशसभा
चार ठूला राजनीतिक दलहरुसम्बद्ध समाजवादी मोर्चा नेपालले नुवाकोटमा सन्देश सभा गरेको छ । समाजवाद विचारधारा बोक्ने दलहरुबीचको कार्यगत एकतामार्फत् संघिय लोकतान्त्रिक गणतन्त्र लगायत मुलुकले प्राप्त गरेका परिवर्तनहरुलाई जोगाउँदै नेपाललाई अब समाजवादी शासन व्यवस्थामा लैजान अग्रगामी सबै शक्तिहरु एकजुट हुनुपर्ने मोर्चाका वक्ताहरुले उद्घोष गरेका छन् ।
शनिबार नुवाकोट सदरमुकाम विदुरमा आयोजित मोर्चाको सन्देश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै जनता समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जनताको संघर्षबाट प्राप्त अधिकार र स्वतन्त्रताको अपहरण हुनबाट बचाउन समाजवाद पक्षधरहरु एक ठाउँमा उभिनुपरेको बताए । मोर्चाका केन्द्रिय सचिवालय सदस्य समेत रहेका उनले गणतन्त्रमार्फत् समाजवादमा जाने आधारहरु निर्माण भइसकेको दाबी गर्दै परिवर्तनका बिरोधीहरु अहिले सल्बलाउन थालेकोमा उनिहरुको अन्त्य छिट्टै भइछाड्ने ठोकुवा गरे ।
मोचाका नेता तथा पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय पोलिट्ब्यूरो सदस्य हितबहादुर तामाङले संघिय लोकतान्त्रिक गणतन्त्र नै जनताको उन्नत व्यवस्था भएकोले यसलाई संस्थागत गर्दै अब देशलाई समाजवादमा जान कसैले रोक्न नसक्ने बताए । प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङले इतिहासमा कसैले गर्न नसकेको हिम्मत प्रचण्ड नेतृत्वको सरकारले गरिरहेको उल्लेख गर्दै जनताको बलिदान र संघर्षबाट प्राप्त गरेको न्याय, स्वतन्त्रता, जनअधिकारहरु खोस्न हिजोका निरंकुशवादका अवशेषहरुको असफल प्रयास मात्रै भएको टिप्पणी गरे ।
सन्देश सभामा आफ्नो विचार व्यक्त गर्दै मोर्चा घटक दल नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय परिषद् सदस्य सुर्य कँडेलले राजतन्त्रकालिन युगका निरंकुशताका मतियारहरु र लोकतान्त्रिक नामका तर, प्रतिगामी शक्तिहरुले टाउको उठाउन खोजिरहेकोले तिनलाई परास्त गर्नपनि मुलुकलाई सहि दिशा दिने समाजवादी मोर्चाको आवश्यकता आइपरेको उल्लेख गरे ।
मेर्चासम्बद्ध अर्को राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्यूरो सदस्य आजाद सी ले विदेशी दलाल, साम्राज्यवादी र हैकमका विरुद्ध नेपालमा ठूलो आँधीब्यहोरीसहितको समाजवादी आन्दोलनका साथै एकिकृत जनक्रान्तिको खाँचो रहेको बताए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका ईन्चार्ज निर्देश सीको अध्यक्षतामा गरिएको सन्देशसभामा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्य पुष्पविक्रम मल्ल, केन्द्रिय सदस्य तेज बहादुर मिजार, माओवादी केन्द्र नुवाकोटका जिल्ला संयोजक पुष्प लामिछाने अरुण, पुर्व सांसद तथा माओवादी नेता हिरानाथ खतिवडा लगायतका नेताहरुको सहभागिता रहेको थियो । साथै एकिकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य यमकुमार खाती, जसपाका केन्द्रिय परिषद् सदस्य इश्वर राउत, जिल्ला अध्यक्ष शेर बहादुर विक लगायतका सयौँ नेता कार्यकर्ताहरुको सभामा सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस