Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा ११ हजार किशोरीहरुलाई एच.पि.भी खोप लगाईयो

नुवाकोटमा ११ हजार किशोरीहरुलाई एच.पि.भी खोप लगाईयो


माघ २२ देखि फागुन ६ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाउँन राष्ट्रिय अभियान संचालन भएको थियो । अभियानको क्रममा नुवाकोटका ११ हजार १ सय ७८ जना किशोरीहरुलाई एचपिभी खोप लगाउने लक्ष्य जनस्वास्थ्य कार्यालयले लिएको थियो । तर लक्ष्य भन्दा १९ कम अर्थात ११ हजार १ सय ५९ जना किशोरीहरुलाई एच.पि.भी. खोप लगाउँन जनस्वास्थ्य कार्यालय सफल भएको छ ।

खोपको लक्षित वर्गको रुपमा नियमित अन्तर्गत कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरुलाई लिइएको थियो । त्यस्तै कक्षा ७ देखि १० का छात्राहरु र विद्यालय जनाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई अभियानमा समेटिएको थियो । नियमित तर्फको २ हजार ४ सय ३० र अभियान तर्फको ८ हजार ७ सय ४८ गरी ११ हजार १ सय ७८ जना किशोरीहरुलाई एच.पि.भी. खोप लगाउने लक्ष्य रहेको थियो । त्यसमध्ये नियमित तर्फको २ हजार २ सय ९९ र अभियान तर्फको ८ हजार ८ सय ६० गरी ११ हजार १ सय ५९ जना किशोरीहरुलाई एच.पि.भी. खोप लगाइएको जनस्वास्थ कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिनुभएको छ  ।

जनस्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाको १२ वटै स्थानीय तहमा खोप अभियान संचालन भएको थियो । अभियानको क्रममा विदुर नगरपालिकाको २ हजार ७ सय ५०, दुप्चेश्वर गाउँपालिकाको एक हजार ९८, बेलकोटगढी नगरपालिकाको एक हजार ४ सय ८१, म्यागङ गाउँपालिकाको ५ सय १७ र किस्पाङ गाउँपालिकाको ४ सय ७३ जना छात्रा तथा किशोरीहरुलाई खोप लगाइएको छ । त्यस्तै तारकेश्वर गाउँपालिकाको ५ सय ८२, शिवपुरी गाउँपालिकाको ७ सय ३४, पञ्चकन्या गाउँपालिकाको ५ सय ९, लिखु गाउँपालिकाको ८ सय ८६, तादी गाउँपालिकाको ७ सय १६, सुर्यगढी गाउँपालिकाको ६ सय १९ र ककनी गाउँपालिकाको ९ सय ९४ जनालाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइएको हो । खोप लगाएका मध्ये २ जनामा मात्रै समान्य असर देखिएको थियो ।

जिल्लामा खोप अभियान संचालन गर्नलाई ११ हजार ४ सय मात्रा प्राप्त भएकोमा एक मात्रा खेर गएको र ११ हजार १ सय ५९ प्रयोग भएको जनस्वास्थय कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिएका छन् । खोप अधिकृत महर्जनको अनुसार ए.डि. सिरिञ्ज १२ हजार छ सय प्राप्त भएकोमा ११ हजार ८ सय ५५ प्र्रयोग भएको छ । त्यस्तै १ सय ५० वटा सेफ्टी बक्स प्राप्त भएकोमा १ सय २३ वटा खर्च भएको छ ।

हरेक वर्ष विश्वमा ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र सन् २०३० सम्ममा ७ लाख महिलासम्म पुग्ने अनुमान गरिएको छ । वर्षमा यस क्यान्सरको कारण विश्वमा ३ लाख ११ हजार महिलाले ज्यान गुमाउनु परेको छ भने सन् २०३० सम्ममा ५ लाख महिलाको मृत्यु हुने अनुमान गरिएको छ । नेपालमा मात्रै वर्षमा २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने १ हजार ३ सय १३ को मृत्यु हुने गरेको अनुमान गरिएको छ । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको अनुमान छ । महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोश्रो मुख्य कारण रहेको छ । त्यस्तै क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको छ । यी तथ्य र तथ्यांकलाई न्यूनिकरण गर्नको लागि राष्ट्रिय खोप सल्लाहकार समितिको असोज २३ को सिफारिस र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्तिक ८ को निर्णय अनुसार किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाइएको हो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस