कश्मीर आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

जम्मु–कश्मीरको पहलगाममा हालै भएको आतङ्ककारी हमलापछि नेपाल–भारत खुला सीमामा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
खुला सीमाका कारण कुनै पनि अवाञ्छित गतिविधि रोक्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो। उहाँका अनुसार सुनसरी जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ।
सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोली परिचालित गरिएको छ। टोलीले सीमावर्ती क्षेत्रमा नियमित गस्ती गर्नुका साथै सीमा भएर ओहोरदोहोर गर्ने व्यक्तिहरूको कडाइका साथ जाँच गरी मात्र आवतजावत अनुमति दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताउनुभयो।
प्रशासनले सर्वसाधारणलाई सुरक्षा सतर्कता पालना गर्न र कुनै पनि शंकास्पद गतिविधिको जानकारी सुरक्षाकर्मीलाई दिन आग्रह गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस