विदुर नगरपालिकामा चोरीका घटना बढ्दै,सुरक्षा गस्ती बढाउन आग्रह
नुवाकोटको प्रहरी र प्रशासन दुबैलाई डकैती समूहले चुनौती दिएको छ । झण्डै डेढ महिनाअघिदेखि शुरु भएको चोरी र डकैतीको घटना नियन्त्रण गर्न र यस्ता कार्यमा संग्लग्नलाई कारवाही गर्न प्रहरी र प्रशासन असफल बनेको छ ।
केहिदिन अघि देखि नै विदुर नगरपालिका भित्रका सहकारी र नगर आसपासका क्षेत्रमा दर्जनौँ घरमा चोरी भएको थियो । प्रहरी र प्रशासनले यस्ता कार्यमा संग्लग्नको पहिचान गर्न ढिलाई गर्दा यो समूहको मनोबल झन बढेको छ ।
यसरी नुवाकोटको विदुर नगरपालिकामा डकैती त्रास बढ्दै गर्दा शान्ति सुरक्षा कायम गर्न नगर प्रमुख राजन श्रेष्ठले जिल्ला प्रहरी कार्यालय लगायतका सम्बन्धित प्रशासनलाई निर्देशन दिएका छन् ।
नगरप्रमुख श्रेष्ठले नगरवासी जनताको जनधनको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएकोले जनताको सुरक्षामा कुनैपनि कसर बाँकी नराखी दिनरात खटिन नेपाल प्रहरी लगायतको निकायलाई ठाडो निर्देशन दिएका छन् ।
उनले नगरवासी आफ्नो जनधनको असुरक्षा महशुस नगरुन भन्ने चाहेको बताएका छन् । डकैत समूहले नगरपालिकामा चोरी डकैतीको घटना तिव्र पार्दा समेत प्रशासन भने मुकदर्शक बनेर बसेको स्थानीयहरुले आक्रोश पोखेका छन् ।
डकैत समूहले विभिन्न सहकारीदेखि सरकारी कार्यालय र व्यक्तिका घरभित्रै पसेर चोरी तिव्र पारेका छन् ।
दिनप्रति दिन चोरी र डकैतीको यस्ता घटना बढाएसँगै अहिले स्थानीयकोको निन्द्रा नै हराएको छ । यो समूहले कहिले व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना घटाइरहेका छन्। सोमबार मात्र नगरपालिकामा रहेको सहकारीको कार्यालयमा चोरी भएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस