नुवाकोटमा मतदाता दुई लाख ४१ हजार ९ सय
नुवाकोटमा ४ हजार ५ सय ३७ जना मतदाता थप भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा २ लाख ३७ हजार ४ सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचन पश्चात नयाँहरुको लागि असार १ गते देखि फोटो सहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।
नेपाल सरकारले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने मिति साउन १९ गते तोकेपछि २० गतेबाट मतदाता नामावली संकलन कार्य रोकिएको थियो । असार १ गतेदेखि श्रावण २० गतेसम्ममा जिल्ला प्रशासन कार्यलय, इलाका प्रशासन कार्यलय सातबिसे र निर्वाचन कार्यलयमा गरी ४ हजार ५ सय ३७ जनाले मतदाताको लागि फोटो खिचाएको निर्वाचन कार्यलय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । थप भएका सहित नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ४१ हजार ९ सय ७१ पुगेको निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो ।
नुवाकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ वटा र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ४ वटा रहेको छ । त्यस मध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ३१ हजार ६ सय १ पुरुष, २८ हजार ३ सय १८ महिला र अन्य २ जना गरी ५९ हजार ९ सय २१ जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ३२ हजार १ सय ४२ पुरुष, २९ हजार ६ सय २० महिला र १ जना अन्य गरी ६१ हजार ७ सय ६३ जना मतदाता रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा ३० हजार ९ सय ६२ पुरुष र २९ हजार ७४ महिला गरी ६० हजार ३६ जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ३० हजार २ सय १७ पुरुष र ३० हजार ३४ महिला गरी ६० हजार २ सय ५१ मतदाता रहेका छन् । आगामी मंसिर ३ गते १८ वर्ष पूरा भएका र फोटो सहितको मतदाता नामावलीमा नाम भएका नागरिकहरुले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सहभागी हुन पाउनेछन् ।
“संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी यहि भदौँ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने छ । जिल्लामा रहेका सबै मतदाताहरुको विवरण निर्वाचन आयोगबाट प्राप्त भइसकेकोले उक्त विवरण स्थानीय तह र सबै वडा कार्यलयहरुमा टाँस गर्नको लागि उपलव्ध गराउनेछौँ,” निर्वाचन अधिकारी गौतमले भन्नुभयो, “भदौँ १२ गते प्रकासित हुने मतदाता नामावली प्रति दाबी विरोध भएमा त्यसको छानबिन गरिने छ । मतदाता नामावली अद्यावधिक प्रश्चात हाल कायम भएका मतादाताहरुको संख्यामा थपघट हुनेछ ।”
नुवाकोटको १२ स्थानीय तहमा १ सय ३२ मतदान स्थान र २ सय ८७ वटा मतदान केन्द्र कायम गरिएको छ ।
नुवाकोट न्यूज बाट शाभार
क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस