एमालेले बनायो ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी
नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको आज बसेको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ। कमिटीको सचिवमा एमाले महासचिव विष्णु रिमाल चयन भएको एमाले प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्।
आजको बैठकमा देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र विजय हासिल गर्ने अठोट लिनुपर्ने धारणा ओलीले राखेका थिए।
निर्वाचन कमिटीमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीका केन्द्रीय विभागका सचिव सदस्य छन्।
एमालेले तत्कालै वाम गठबन्धन नहुने बताउँदै एक्लै चुनावमा जाने निष्कर्ष निकालेको छ। एमालेले आगामी भदौ २४ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न पनि मातहत कमिटीहरूलाई भनेको छ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस