सङ्कटापन्न सूचीमा रहेको सुनगोहोरो धानखेतमा फेला
कैलालीको घोडाघोडी नगरपालिका १ जनकपुरमा शनिबार बिहान विश्वमै संरक्षित प्रजाति सुनगोहोरो फेला परेको छ । स्थानीय पुतली सापकोटाको खेतमा धान काट्दै गर्दा स्थानीयले विस्तारै हिँड्दै गरेको अवस्थामा सुनगोहोरालाई देखेका थिए ।
धान काट्दै गर्दा सुनगोहोरो देखेका स्थानीय नविन पुरीले महत्वपूर्ण प्रजातिजस्तो लागेपछि खबर ईलाका वन कार्यालय, सुखडको समूह सुरक्षित उद्धारका लागि स्थलगत क्षेत्रमा पुगेको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन प्रमुख गोकुल रिजालले संकाटपन्न प्रजातिको रुपमा रहेको सुनगोरोलाई उद्धार गरी सुरक्षित स्थानमा छोडिने बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले घस्रने जातका जन्तुअन्र्तगत सुनगोहोरालाई अधिक चोरी शिकार र अवैध व्यापार हुने प्राणीको सूचीमा राखेको छ । सुनगोहोरोको चोरीसिकारी र अवैध व्यापार गर्नेलाई कडा सजायको कानुनी व्यवस्था समेत गरेको विभागले जनाएको छ ।
स्थानीय संरक्षणकर्मी दयाराम चौधरीले जंगल र पानी भएको क्षेत्रमा बस्ने सुनगोहोरो अण्डा दिनका लागि सुरक्षित स्थान खोज्दै खेतमा पुगेको हुनसक्ने बताउनुभयो ।
उहाँले अण्डा दिने समयमा शरीर भारी हुने र धेरै दौड्न नसक्ने भएकाले खेतमा किसानले सहजै देख्न सकेको समेत उल्लेख गर्नुभयो ।
नेपाललगायत भारत, बङ्लादेश, म्यान्मा र पाकिस्तानमा मात्र पाईने सुनगोरो तराईक्षेत्रमा पाइन्छ । १५ देखि २० वर्षसम्म बाच्ने सुनगोहोरोको आकारअनुसार आठदेखि तीसवटासम्म अण्डा दिने बताइएको छ ।
आईयुसिएनले सङ्काटपन्न सूचीमा राखेको सुनगोहोरो संरक्षणमा नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७३ अन्तर्गत हेर्दै आएको छ ।
Source :- Gorkhapatraonline
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस