Techie IT
गृहपृष्ठसमाचारफाइजरको खोप म्याद गुज्रिएको तीन महिनासम्म लगाउन मिल्ने

फाइजरको खोप म्याद गुज्रिएको तीन महिनासम्म लगाउन मिल्ने


सरकारले कोरोनाविरुद्धका खोप खेर जाने परिमाण बढ्न थालेपछि म्याद गुज्रिएका खोप पनि तीन महिनासम्म लगाउन मिल्ने जनाएको छ।

स्वास्थ्य सेवा विभाव अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले म्याद गुज्रिएका खोप पनि मिति सकिएको तीन महिनासम्म लगाउन मिल्ने जानकारी दिनुभयो।

डा. विवेकका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) युनिसेफ, गाभी र नेपाल सरकारको बैठकमा विश्व स्वास्थ्य सङ्गठनले अल्टा लोडेड फ्रिजमा राखिएको फाइजर, मोडर्ना खोप म्याद सकिएको मितिपछि पनि थप तीन महिनासम्म प्रयोग गर्न सकिने सिफारिस गरेको हो।

उहाँले भन्नुभयो, ‘अल्ट्रा लोडेड फ्रिजमा राखिएको फाइजर, मोडर्ना खोप म्याद सकिएको तीन महिनासम्म पनि त्यो प्रभावकारी रहिरहने भएकोले म्याद सकिएको तीन महिनासम्म पनि लगाउन मिल्ने सिफारिस पछि हामीले यस्तो निर्णय गरेका छौँ। अहिले अल्ट्रा लोडेड फ्रिज टेकुस्थित भण्डारण केन्द्रमा मात्र रहेको छ।

नेपालले अनुदान र खरिद गरेर ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप प्राप्त गरेको थियो। नेपालमा २०७७ माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा अहिलेसम्म पाँच करोड ३५ लाख ६ हजार २०७ मात्रा खोप लगाइएको छ। जसमा एक मात्रा दुई करोड ३२ लाख ८ हजार ४८३ ले लगाएका छन्। पूर्ण मात्रा खोप दुई करोड २३ लाख २४ हजार ९३३ जनाले लगाएका छन्।

नेपालमा पाँच वर्षमाथिको जनसङ्ख्या दुई करोड ३३ लाख २७ हजार ६१९ छ। जसमध्ये ९९.५ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने ९५.७ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन्।

आपूर्ति शाखाको तथ्याङ्क अनुसार नेपालमा केन्द्र र प्रदेशमा गरेर ५२ लाख ८० हजार भन्दा बढी मात्रा खोप भण्डारणमा रहेको छ। जसमध्ये टेकु भण्डारण केन्द्रमा ४० लाख मात्रा  भन्दा बढी खोप भण्डारणमा रहेको छ।

नेपालमा मोडर्ना, फाइजर, एस्ट्राजेनिका, कोभिसिल्ड, भेरोसेल, जन्सन एण्ड जन्सन कम्पनीका खोप प्रयोगमा ल्याइएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस