Techie IT
गृहपृष्ठसमाचारनिर्वाचन सुरक्षा थप सुदृढ बनाइँदै

निर्वाचन सुरक्षा थप सुदृढ बनाइँदै


आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको  छ। केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो।

गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षाको पूर्वतयारी योजनाबद्ध रूपमा भइरहेको बताउनुभयो।

निर्वाचन सुरक्षामा कुनै त्रुटि नहुने गरी तयारी भइरहेको बताउँदै पोखरेलले भन्नुभयो, ‘‘लोकतन्त्रमा आफ्नो फरक मत राख्न पाउने भए पनि जनताको मताधिकार हनन हुनेगरी कुनै गतिविधि भए तत्काल कानुनी दायरामा ल्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको छ।’’ उहाँले केही समूह निर्वाचनको विरोध गर्दै आएको भए पनि चुनाव बिथोल्ने गरी गतिविधि गर्न सक्ने अवस्था नरहेको बताउनुभयो।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना तयार गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरिसकेको छ।

जसअनुसार मतपत्रको छपाइ तथा ढुवानीको सुरक्षामा नेपाली सेना परिचालन भइसकेको छ। निर्वाचन अधिकृतको कार्यालय तथा महìवपूर्ण संरचनाको सुरक्षामा सशस्त्र प्रहरी बल परिचालन भइसकेको छ।

नेपाल प्रहरीले देशभरका मतदान केन्द्र तथा मतदान स्थलको सुरक्षा व्यवस्थापन, तयारी र गस्तीमा परिचालन भइसकेको छ। निर्वाचन सुरक्षाका लागि भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरीसमेत परिचालन भइसकेका छन्।

गृह मन्त्रालयले निर्वाचनको सुरक्षा चुनौती देखिएका स्थानमा तत्काल परिचालन गर्ने गरी आवश्यक सुरक्षाकर्मी केन्द्रबाटै परिचालन गर्ने तयारी भइरहेको जनाएको छ।

देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका चारवटै सुरक्षा निकायबाट झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिनेछ। निर्वाचन केन्द्र तथा मतदान स्थलको सुरक्षा नेपाल प्रहरी र सहायकका रूपमा म्यादी प्रहरी खटाइनेछ। विशेष नाका र मतदान स्थल वरपरको सुरक्षा सशस्त्र प्रहरीबाट गरिनेछ। नेपाली सेनालाई  आवश्यक परे तत्काल परिचालन गर्नेगरी तैनाथी अवस्थामा राखिनेछ।

चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक पार्टीका कार्यकर्ताबीच विवाद र झडप हुनसक्ने भएकाले नेपाल प्रहरीले आमसभा र चुनावी कार्यक्रमको सुरक्षा व्यवस्थापनमा परिचालन गरेको छ। निर्वाचनमा सुरक्षाको दृष्टिले मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिममा वर्गीकरण गरिएको छ।

देशभरका तीन हजार ३२२ मतदान स्थल अति संवेदनशील, तीन हजार ९८८ संवेदनशील तथा तीन हजार ३६१ मतदान स्थल सुरक्षाको दृष्टिले सामान्य वर्गीकरण गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ७१ हजार ६९३, नेपाली सेनाबाट झन्डै ७५ हजार तथा सशस्त्र प्रहरीबाट करिब ३१ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ।

देशका ७७ वटै जिल्लाको सुरक्षा अवस्थाबारे तत्काल जानकारी लिने र सोहीअनुसार रणनीति तय गर्न प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा व्यवस्थापन प्रणाली (ईएमआईएस) सफ्टवेयर तयार गरेको छ। सो प्रविधिको प्रयोग गरी ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जीपीएस)बाट निर्वाचनको सुरक्षा र परिचालनबारे केन्द्रबाटै अनुगमन गरिनेछ।

Source:- Gorkhapatraonline


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस