Techie IT
गृहपृष्ठसमाचार४२ वर्षपछि सुदूरपश्चिममा उत्रै भूकम्प

४२ वर्षपछि सुदूरपश्चिममा उत्रै भूकम्प


बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प पश्चिम नेपालको चार दशक यताको सबैभन्दा ठूलो भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

यसअघि २०३७ साउन १४ गते राति ८ बजेर ४३ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको पछि यति ठूलो भूकम्प गएको थिएन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका भुकम्पबिद भरत कोइरालाले भन्नुभयो, “यो भूकम्प २०३७ साल पछिको पश्चिम नेपालको सबैभन्दा ठूलो भूकम्प हो । त्यतिबेला बझाङमा केन्द बिन्दु बनाएर गएको भूकम्पले एकसय ७० जनाभन्दा धेरैको ज्यान गएको थियो । १० हजारभन्दा धेरै घर भत्किएका थिए ।”

यस भन्दाअघि २०५३ मा गएको भूकम्प योभन्दा सानो थियो । १९९० सालपछि २०३७ मा पश्चिम नेपालमा ठूलो भुईँचालो गएको थियो । बुधबार गएको भूकम्पका कारण जिल्लाका विभिन्न गाउँहरूका सयौँ घरहरू चर्किएका छन् । भूकम्पले बझाङ जिल्लामा सबैभन्दा बढी खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकामा क्षति गरेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका गाउँपालिकाहरूका अधिकांश घरहरू चर्किएका छन् । दुई दर्जनभन्दा बढी घरहरू बस्न अयोग्य भएका छन् । केन्द्र बिन्दु भएको ठाउँ नजिकै भएकाले बढी क्षति खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा पुगेको बताइएको छ । अन्य गाउँपालिकाका घरमा समेत क्षति गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अबस्थीले बताउनुभयो ।

प्रहरीकहाँ मुचुल्का बनाउने मान्छे आइरहेकाले जिल्लामा कति घरमा क्षति भयो भन्ने आधिकारिक तथ्याङ्क आउन एक दिन लाग्ने उहाँले बताउनुभयो । “जिल्लाको खप्तडछान्ना गाउँपालिकाका ७० प्रतिशत घरहरू चर्किएका छन्” गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीहरूलाई गाउँमा खटाई क्षतिको विवरण लिने काम भइरहेको छ, एक दिनपछि क्षतिको विवरण आउँछ ।”

कमजोर संरचना भएका पुराना अधिकांश घरहरू चर्किएको खबर स्थानीयबाट आइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाभरी अधिकांश विद्यालय, स्वास्थ्य चौकी, लघु विद्युतका भवनलगायतका सरकारी संरचनामा समेत क्षति पुगेको उहाँको भनाइ छ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका जयपृथ्बी नगरपालिकामा समेत क्षति भएको  स्थानीयले बताएका छन् ।

२०५३ पुस २१ गते दिउँसो २ बजेर ३२ मिनेट जाँदा बैतडी केन्द्र विन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पबाट मानवीय क्षति नभएको स्थानीयको भनाइ छ ।

Source:- Gorkhapatraonline


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस