प्रयोगात्मक परीक्षामा ७० प्रतिशत भए पुग्ने
बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली कार्यान्वयनमा आएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच लामो समयदेखिको विवादका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) ७० प्रतिशत अङ्क ल्याए पुग्ने प्रणाली मङ्गलबारबाट कार्यान्वयनमा आएको हो।
यसअघि मन्त्रालयले गत असोज, मङ्सिर र पछिल्लो पटक गत पुस २० गतेबाट गरी तीन पटकसम्म लाइसेन्सको ट्रायलमा नयाँ अङ्क भार प्रणाली अर्थात् ७० प्रतिशत अङ्क भारको नयाँ नियम लागू गर्न निर्णय गरी कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगेको अवस्थामा मुख्यमन्त्री कार्यालयको निर्देशनमा रोकिँदै आएको थियो।
पछिल्लो पटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त प्रणालीको उपयोगिता र कसरी लागू गर्ने सुझावसहित प्रतिवेदन पेस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्न निर्देशन दिएपछि समितिको सुझावअनुसार नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले समितिले नयाँ प्रणाली फागुन १ गतेबाटै लागू गर्ने निर्णय भएकोमा सार्वजनिक बिदाका कारण मङ्गलबारबाट कार्यान्वयनमा आएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “सवारीचालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याए उत्तीर्ण हुने व्यवस्था लागू गर्न मन्त्री र मुख्यमन्त्री दुवै सकारात्मक भएपछि कार्यान्वयन सम्भव भएको हो।” लाइसेन्सको प्रयोगात्मक परीक्षामा नयाँ प्रणाली कार्यान्वयन पटक–पटक रोकिएपछि प्रदेशका तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले मुख्यमन्त्री कार्यालयको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको थियो।
सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ प्रणाली लागू गर्ने विषयमा तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री दाहाल र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबीच विवादसमेत देखिएको थियो। प्रवक्ता पोख्रेलले मन्त्रालयले मोटरसाइकल, स्कुटर र कारमा प्रयोगात्मक परीक्षा (ट्रायल)मा नयाँ अङ्क भार प्रणाली लागू गर्ने र अन्य सवारीसाधनका हकमा पुरानै प्रणाली लागू हुने बताउनुभयो।
यसैबीच प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले लाइसेन्सको ट्रायलमा नयाँ व्यवस्थाको सुरुवात गर्नुभएको छ। मन्त्री श्रेष्ठले मङ्गलबार काठमाडौँको गुर्जुधारास्थित ट्रायल सेन्टरबाट लाइसेन्सको ट्रायलमा नयाँ व्यवस्थाको शुभारम्भ गर्नुभएको हो। लाइसेन्सका ट्रायल दिँदा सय नम्बरमा सय नै नम्बर ल्याउनुपर्ने बाध्यकारी व्यवस्था अवैज्ञानिक तथा अव्यावहारिक रहेकोले परिमार्जन गरी लागू गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो।
उहाँले भन्नुभयो, “कुनै पनि परीक्षामा शत–प्रतिशत अङ्क ल्याउँदा मात्र उत्तीर्ण हुने व्यवस्था अव्यावहारिक रहेको र यसले यातायात क्षेत्रलाई नै समस्यामा पार्ने देखिएपछि ७० अङ्क ल्याए पुग्ने नयाँ व्यवस्था लागू गर्न प्राथमिकतामा राखेर काम अघि बढाएको र यो प्रणालीको सुरुवात गरिएको हो।” सानो त्रुटिमा पनि अनुत्तीर्ण गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुका साथै चालकहरूले अनियमित र अवैधानिक रूपमा लाइसेन्स निकाल्ने क्रम बढेको भन्दै अब लाइसेन्स वितरणमा रहेको ढिलाइलगायतका समस्या समाधान हुने उहाँले बताउनुभयो।
नयाँ प्रणालीले सहज
बागमती प्रदेशमा रहेका १२ वटा यातायात व्यवस्था कार्यालयमध्ये सवारीचालक अनुमति प्रदान गर्ने पाँचवटा कार्यालयबाट नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ। नयाँ व्यवस्था मोटरसाइकल, स्कुटर तथा मोपेडका हकमा मात्र लागू हुनेछ। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडका चालकले घुमाउरो एट (आठ) आकारको अङ्कभार २० तोकिएको छ। उक्त एट आकारको रेखामा दुई पटकसम्म छोएमा प्रत्येक पटक पाँच अङ्कका दरले १० अङ्कभार घटे पनि परीक्षार्थी ट्रायलमा अनुत्तीर्ण भने हुने छैनन्।
दुई पटक भन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा अनुत्तीर्ण भएको घोषणा गर्ने व्यवस्था गरिएको छ। यसैगरी साँघुरो फलेकको अङ्कभार १० तोकिएको छ। फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछ। निर्देशिकामा यू टर्नको अङ्कभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अङ्क घटाइने र त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोएमा अनुत्तीर्ण हुने व्यवस्था रहेको छ। ट्रायल परीक्षामा ७० प्रतिशतको अङ्कभार ल्याएर उत्तीर्ण हुने व्यवस्थाले सवारी दुर्घटनाको जोखिम नबढ्ने जिकिर मन्त्रालयको छ।
Source:-Gorkhapatraonline
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस