स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना देशले गर्दैन, गर्नु हुँदैन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई निर्वाचनमा हराउने परिकल्पना देशले गर्न नहुने बताएका छन्। वाग्ले र खरेललाई पार्टीमा भित्र्याउने, उपनिर्वाचनको टिकट दिने लगायतका सन्दर्भमा शनिबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले उनीहरू व्यक्तिगत स्वार्थ पूरा गर्न राजनीतिमा नआएको बताए\
‘स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले गर्दैन। गर्नु हुँदैन। राजनीतिक स्वार्थ पूरा गर्न उहाँहरू आउनुभएको होइन। उहाँहरूले कमाउनुपर्ने सबै कमाउनुभएको छ। आफूले कमाएको कुरा समाजलाई दिन, आफूलाई गुन लगाएको समाजको गुन तिर्छु भनेर आउनुभएको छ। त्यसैले देशले सदनमा हेर्न चाहेका मानिसको रुपमा सर्वत्र भनिएको छ। त्यो पूरा हुनेछ’, लामिछानेले भने।
उनले यो देशमा हजारौँ स्वर्णिम वाग्ले र रमेश खरेलहरू रहेका तर, पहिचान हुन नसकेको बताए। उनीहरू जस्तै कैयौँ विदेश जान बाध्य भएको लामिछानेको टिप्पणी छ। वाग्ले र खरेललाई पार्टीमा भित्र्याउन पाएकोमा भने उनले गर्व महसुस भएको बताए।
‘उहाँहरू जस्ता धर्तिपुत्रहरूलाई यस पार्टीमा समावेश गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। यो देशले गर्वको महसुस गर्ने छ’, लामिछानेले भने, ‘जब हामी सँगै सम्मानित सदनमा उभिनेछौँ। यो देशको नीति निर्माण गर्ने तहमा उहाँहरू जस्ता विज्ञ साथीहरूसहित उभिनेछौँ। मलाई लाग्छ गरिमामय संसद्ले पनि आफ्नो गरिमा बढाउने छ।’
‘उहाँहरूले भोलेन्टियरको रुपमा भए पनि यो मुलुकलाई सेवा दिन पाऊँ न भनिरहँदा पनि अवसरबाट वञ्चित गरिएको अनुभव उहाँहरूले गर्नुभएको छ’, लामिछानेले थपे।
लामिछानेले रास्वपा छिट्टै ठूलो पार्टी बन्ने दाबी पनि गरे। ‘यो संकेत हो कि रास्वपा देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ। यो प्रेस भेटघाट कार्यक्रम हजारौँ क्षमतावान् मान्छे जोडिन आँटेको जनाउ घण्टी मात्रै हो’, उनले भने।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस