चितवन -२ मा न्यौपाने र तनहुँ -१ मा खनाल एमालेको उम्मेदवार
नेकपा (एमाले) ले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र २ र तनहुँ क्षेत्र १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
निर्णयअनुसार चितवन क्षेत्र २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवैलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
एमालेले बारा क्षेत्र २ को उपनिर्वाचनका लागि भने भोलि आइतबार मात्र उम्मेदवार तय गर्ने जनाएको छ । सो क्षेत्रका लागि थप छलफल गरेर उम्मेदवार तय गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । सो क्षेत्रको उम्मेदवार तय गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई बैठकले दिएको छ । प्रचार विभाग प्रमुख गुरुङले भन्नुभयो, “तनहुँ निर्वाचन क्षेत्र १ मा हाम्रो पार्टीको तर्फबाट सर्बेन्द्र खनाललाई उम्मेदवार बनाएका छौँ । त्यस्तै, चितवन निर्वाचन क्षेत्र २ का लागि रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ ।”
त्यसैगरी एमालेले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि ठोस, सार्थक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । मिटरब्याज असुल गर्ने कामलाई अपराध ठहर गरी कानुनी व्यवस्था गर्न र त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई तत्काल कानुनी कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको पार्टीका प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।
मुलुकको प्रचलित कानुन र वित्तीय प्रणालीको मान्यताविपरित सर्वसाधारणलाई अप्ठ्यारोमा पारेर मिटरब्याज असुल गर्नु गैरकानुनी भएको एमालेले ठहर गरेको छ । यस सन्दर्भमा सार्वजनिक भएका कतिपय घटनाहरू अमानवीय रहेको पनि एमाले जनाएको छ । मिटरब्याजकै पासोमा परेर कतिपय व्यक्तिहरूले घरजग्गा गुमाउनु परेको, कतिपयले मुद्दामामिला व्यहोर्नु परेको, कतिपय जेलमा परेको, कतिपयले घर छाडन बाध्य हुनुपरेको र कतिपय बालबालिकाहरूले पढाई समेत गुमाउनु परेको विषय संविधानको मान्यता विपरीत रहेको एमालेको बुझाइ रहेको गुरुङले बताउनुभयो ।
बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुनेगरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरूलाई बैठकले निर्देशन दिएको छ । सो दिन नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औँ वर्ष प्रवेश हुँदैछ ।
Source:- Gorkhapatraonline
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस