श्रीरामको अवस्था बुझ्न पुगे प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसी ,माग पूरा गर्न पहल गर्ने
विभिन्न ५ बुँदे मागसहित अनसनरत श्रीराम घिमिरेको अवस्थामा बुझ्न नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसी र संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसी अनसनस्थल पुगेका छन् ।
नुवाकोट ककनी गाउँपालिका वडा नं २ का घिमिरे गत वैशाख ५ गतेबाट बसन्तपुरको भुगोलपार्कमा अनसन बसेका छन् ।
सोमबार दिउँसो अनसनस्थल पुगेर पूर्वमन्त्री समेत रहेका नेता अर्जुननरसिंह केसीले सरकारले उनको माग पूरा गर्नुपर्ने बताए । उनी एक प्रतिनिधि किसान मात्रै रहेको बताउँदै देशभरका किसानहरुको समस्या समाधानका लागि सरकारले तत्काल ध्यान दिनुपर्ने बताए ।
त्यस्तै संविधान सभा सदस्य जगदिश्वर नरसिंह केसीले सरकारले घिमिरेको माग विलम्ब पूरा गर्नुपर्ने माग राखे । यो वा त्यो बहानामा सरकारले किसानहरुको आवाज दबाउन नहुने उनको भनाइ रहेको छ ।
घिमिरेले कृषिको अनुदान खोई ? बैंकिंङ ब्याज किसानलाई न्यून कायम गर, मल, बीउ र औजार अनुदानमा दिनुपर्छ, कृषिमा १० प्रतिशत बजेट छुटयाउ , प्रोजेक्ट ऋण एक प्रतिशतमा ५० लाखसम्म उपलब्ध गराउ, किसान कार्ड लागु गर र यातायातमा भाडा सहुलियत देउ जस्ता माग राखेर अनसन बसेका छन् ।अनसनरत घिमिरेको स्वास्थ्य स्थिति दिन–प्रतिदिन बिग्रँदो अवस्थामा छ । दुइ सहयोगी राकेश घिमिरे र केदार घिमिरेका साथमा उनी ५ गते ककनी २ बाट पैदल हिँडेर अनसन स्थलमा पुगेका हुन् ।
सरकारले आफ्नो माग पूरा नभएसम्म अनसन नतोड्ने घिमिरे बताउँदै आइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस