वानएक्स बेटमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान सकियो
![](https://www.onlinenuwakot.com/wp-content/uploads/2023/07/all-photo1686818323.jpg)
वानएक्स बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको एसपी सीताराम रिजालले जानकारी दिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ३१ गते हास्य कलाकार र युट्युबर आठ जनालाई पक्राउ गरेको थियो।
गोरखा घर भई वनस्थलीले ३५ वर्षीय हास्य कलाकार ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ‘म्याकुरी’ पवन खतिवडा, पोखरा घर भई नयाँ बजार बस्ने ‘राजु मास्टर’ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टीकाथली बस्ने युट्युबर एलिश राई पक्राउ परेका थिए।
त्यस्तै, रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने बेगम नेपाली (भटभटे माइला) लाई पनि प्रहरीले पक्राउ गरेको थियो।
त्यसै गरी प्रहरीले अर्का एक जना युट्युबरलाई पनि पक्राउ गरेको थियो। असार ९ गते राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूविरूद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा १२५ अनुसार सजायको मागदाबी गरेको छ। जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवानाको राय पेस गरेको छ।
अब सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन अध्ययन गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ। अनुसन्धान गर्न नपुगेमा भने सरकारी वकिलले थप अनुसन्धान गर्नू भनेर फिर्ता समेत पठाउन सक्नेछ।
#सेतोपाटी बाट शाभार
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस