Techie IT
गृहपृष्ठसमाचारपिक प्वाईन्ट एकेडेमीद्वारा दुईदिने सिपमुलक तालिम सञ्चालन

पिक प्वाईन्ट एकेडेमीद्वारा दुईदिने सिपमुलक तालिम सञ्चालन


काठमाडौँको बूढानीलकण्ठ-१३ स्थित पिक प्वाईन्ट एजुकेशन नेटवर्कले दुईदिने दुनाटपरी गाँस्ने र बत्ती कात्ने सिपमूलक तालिम सञ्चालन गरेको छ ।

शनिबारदेखि ‘मौलिक सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ २ दिने प्रशिक्षण कार्यक्रम राखिएको पिक प्वाईन्ट एकेडमीका प्रधानाध्यापक ई. बिनय श्रेष्ठले जानकारी दिनुभयो । यसबाट विद्यार्थीहरूले दुनाटपरी कसरी गाँस्ने र बत्ती कात्ने जानकारीका साथै आफ्नो संस्कार, संस्कृति र परम्पराबारे पनि सिक्ने अवसर पाउने विद्यालयका प्रधानाध्यापक ई.श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा किताबी ज्ञानमात्रै नभएर घर व्यवहारमा आवश्यक पर्ने सीपलाई पनि प्रयोगात्मक कक्षामा राखेको उहाँले बताउनुभयो । समाज आधुनिकतातिर अघि बढ्दै गर्दा घरेलु तथा परम्परागत सिपहरू छुट्दै जाने अवस्थामा त्यसलाई जीवन्त राख्नका लागि पनि यस्तो कक्षा सञ्चालन गर्नु परेको पिक प्वाईन्ट पब्लिक स्कुलका प्रधानाध्यापक ईश्वर के.सी.ले जानकारी दिनुभयो । विद्यार्थी र अभिभावक पनि यस्ता कक्षाबाट खुसी भएको प्रधानाध्यापक के.सी.ले बताउनुभयो ।

प्रयोगात्मक कक्षा चलाएर विद्यार्थीलाई सिकाउँदा उनीहरूको सिकाइ क्षमतामा पनि सकारात्मक प्रभाव परेको पिक प्वाईन्ट एकेडेमीका सह प्रधानाध्यापक महेश के.सी.ले बताउनुभयो । आफूले सिकेको परम्परागत सिप नयाँ पुस्तालाई सिकाउन पाउँदा निकै खुसी लागेको प्रशिक्षक बिमला घिमिरेले बताउनुभयो । यसको महत्त्व र प्रयोग आजभोलि बढ्दै गइरहेको भए पनि सिप हस्तान्तरण नहुँदा हराउँदै गइरहेको विद्यालयका शैक्षिक संयोजक चिरञ्जीवी नेपालको बुझाइ रहेको छ ।

 

सिप विकासका लागि सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिएको संयोजक नेपालले बताउनुभयो । उहाँले सालको पात पवित्र हुनुका साथै वातावरण मैत्री पनि रहेको बताउनुभयो । प्लाष्टिकजन्य प्रयोगलाई दुना टपरीको प्रयोगले घटाउन सकिने उहाँको भनाइ छ । बढ्दो प्लाष्टिकजन्य वस्तुलाई निरुत्साहित गर्न पनि पातबाट बनाइने दुनाटपरी तालिम प्रदान गरिएको विद्यालयको प्रशासनले जनाएको छ ।

सालको पातबाट बनाइने दुनाटपरी गाँस्ने र कपासबाट बत्ती कात्ने प्रशिक्षणमा १२ जना प्रशिक्षकसहित विद्यालयका कक्षा ८,९र१० का ९६ जना छात्राहरूको सहभागिता रहेको छ । साथै विद्यालयले छात्र विद्यार्थीहरूका लागि काष्ठकला प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आगामी दिनमा इन्जिनियरिङ कार्यशालाका साथै प्रयोगात्मक सिपलाई प्रोत्साहन र कार्यान्वयन गर्दै विद्यार्थीहरूलाई सिर्जनशील र व्यावहारिक बनाउने विद्यालयको लक्ष्य छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस