१२ कक्षाको पूरक परीक्षा असोज ६ र ७ गते, भदौ २२ गतेभित्र फारम बुझाइसक्न निर्देशन

कक्षा १२ को पूरक परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एक सूचना निकालेर पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो।
पूरक परीक्षामा नियमित अर्थात रजिस्ट्रेसन नम्बरको सुरुको दुई अंक ७९ भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन्।
तर, उनीहरू सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी दुई विषयमा नन ग्रेड प्राप्त भएको हुनुपर्नेछ।
अथवा सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा अनुपस्थित भएको हुनुपर्नेछ।
यस्ता विद्यार्थीले बोर्डले आगामी असोज ६ र ७ गते सञ्चालन गर्ने परीक्षामा सहभागी हुन पाउनेछन्। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।
असोज ६ गते अनिवार्य अंग्रेजी वा एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय वा दुई विषयमा परीक्षा दिने विद्यार्थीहरूको लागि आफूले परीक्षा दिने विषयहरूमध्ये सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।
तर, अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा गेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्ने बोर्डद्वारा जारी सूचनामा भनिएको छ।
यस्तै बोर्डले पूरक अथवा ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कबापत प्रतिविद्यार्थी ६ सय रुपैयाँ जम्मा गरी फारम भर्न अनुरोध गरेको छ।
उक्त अवधिमा छुट भएकाहरुले दोब्बर दस्तुर तिरी भदौ २९ गतेभित्र फारम भर्न सक्नेछन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस