विदुर मेयरकप फुटवल प्रतियोगिता हुने,बिजेतालाई ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ
खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित युवा उत्पादन गर्ने उदेस्यको साथ अन्तरपालिका स्तरीय नुवाकोट च्याम्पियनशिप विदुर मेयरकप फुटवल प्रतियोगिता हुने भएको छ ।
नुवाकोट जिल्ला फुटवल संघको व्यवस्थापन र सहकार्यमा विदुर नगरपालिकाले माघ १० गतेदेखि मेयरकप फुटवल प्रतियोगिता गर्न लागेको हो । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको बिजेतालाई ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेतालाई २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतियोगितामा सहभागी टिमबाट उत्कृष्ट खेलाडी, गोल रक्षक, उदयमान खेलाडी, अनुशासित टिम, सर्बाधिक गोल कर्ता र म्यान अफ द म्याच घोषणा गरी सम्मान समेत गरिनेछ ।
“जिल्लाको स्थानीय तहहरुद्धारा संचालित खेलसँग सम्वन्धीत हरेक प्रतियोगितामा नगरपालिकाको सक्रिय सहभागिता रहेको छ । खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले कन्जुस्याई गरेको छैन,” नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “एक वडा – एक खेलमैदान निर्माण गरेर हरेक खेलको खेलाडीसँगै हातेमालो गर्ने लक्ष्य नगरपालिकाको रहेको छ । हामीले गर्न लागेको मेयरकप फुटवल प्रतियोगिता मार्फत जिल्लाका खेलाडीहरुलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु ।”
विहिवार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले विभिन्न समयमा हुने प्रतियोगिताले सक्रिय खेलाडीहरुलाई खेलमा नै भविष्य रहेको प्रमाणित गर्न सहयोग पुग्ने बताउनुभएको छ । राज्यले खेलमा लागनी गरेमा खेर नजाने समेत उहाँको उद्घोष रहेको छ ।
प्रतियोगितामा सहभागी हुनको लागि स्थानीय तहले ५० हजार रुपैयाँ शुल्क आयोजकलाई बुझाउनुपर्ने नुवाकोट जिल्ला फुटवल संघका उपाध्यक्ष विजय गुरुङले जानकारी दिनुभएको छ । खेल मैदानमा दर्शकलाई निशुल्क प्रवेसको व्यवस्था समेत मिलाइएको उहाँले बताउनुभएको छ । विभिन्न उपसमिति बनाएर प्रतियोगिताको तयारी थालिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस