Techie IT
गृहपृष्ठसमाचारगीत–संगीतको प्रभाव

गीत–संगीतको प्रभाव


सबैले गाउन र बजाउन पो सक्दैनन् तर गीत–संगीतलाई सबैले मन पराउँछन् । गीत–संगीतको महत्व बोल्न र उठेर हिँड्न नथालेका कोक्रोमा सुताइएका शिशुले समेत गीत गाएको सुनेपछि शरीर हल्लाएर प्रतिक्रिया दिएबाट थाहा हुन्छ । तर पनि गीतलाई राम्रोसंग गाउन भाषा र संगीतको ज्ञानलाई नकार्न सकिन्न ।
हाम्रातिर नेपाली बोल्ने छैनन् । सानो छँदा रेडियोबाट नेपाली गीत सुनेको हो । गाउँको स्कुलमा पढाउने गुरु–गुरुआमाहरुले कहिलेकाहीँ गाउँदा सुनेको हो । गाउँकै कृष्ण बहादुर (मामी) तमाङले “नक्कलीलाई भगाई लग्यो झिल्केले…“ बोलको गीत गाउनुहुन्थ्यो । जेठो बुबा छोवाङ सोनामकी कान्छी छोरी दिदी पेम्पा ल्हामो (पेमा लामा)ले “झल्लझली आँखैमा…” बोलको गीत गाउनुहुन्थ्यो । उहाँकी जेठी दिदी पासाङ याङजेनले “रेसम फिरिर” गीत गाएर सिकाउनुहुन्थ्यो । कक्षा १ वा २ मा पढ्दा कल बहादुर लामा सरले “कस्तुरी हे बास आउँछ भन्छन्…“ बोलको गीतमा नाच्न सिकाउनु भएको याद छ ।

वि.सं.२०३९ सालको माघको अन्तिमदेखि त्रिशूली–सोमदाङ सडक निर्माण गर्न ठेकेदार कम्पनीहरुले हूलका हूल कुल्लि र मिस्त्रिहरु ल्याएर आएपछि “कसले काट्यो बर, मैले काटिनँ मलाई केको डर”, “उकालीमा पनि हजुर मोटर जाँदो रैछ”, तिम्रो बाउलाई सलाम छ, आमालाई नमस्ते…” यस्तै गीतहरु गाएर नाचेको देखेको थिएँ । गाउँघरमा मानिसहरुले आफ्नै भाषामा गाएर लहरै ताँती लाएर नाचेको देखेकोले होला शुरु–शुरुमा नेपाली गीतमा एक्लाएक्लै उफ्री नाचेको अनौठो लाग्थ्यो । फागु पूर्णिमामा लखेटी–लखेटी रङहरु दलेर खेलेको र गाएर नाचेको देख्दा पनि अचम्मै लाग्थ्यो ।

कक्षा ५ उत्तीर्णपछि धुन्चेमा पढ्न आएपछि शिवरात्रीमा भाङ, चरेस र गाँजा खाएर कर्मचारीहरु गाएर नाचेको देखेँ । त्यो अर्को अनौठो थियो । हरेक वर्ष पुस महिनाको १४ गते राजा वीरेन्द्रको जन्मोत्सव मनाउन स्कुलका विद्यार्थीहरुलाई नाचगान सिकाइन्थ्यो । बेत्रावतीका संगीतकार तुलसी नारायण डंगोल (काका) ले हार्मोनियम बजाएर नाच्न पनि सिकाउनु हुन्थ्यो । उनी कृषि संगठनका सभापति थिए । गीत रसुवा मा.वि.का शिक्षक केशरी प्रसाद खनालले लेख्नुहुन्थ्यो । अर्को एकजना हेल्थपोष्टका हेल्थ असिष्ट्यान्टले पनि हार्मोनियम बजाउनुहुन्थ्यो । हाम्री कान्छी दिदी किप्पा याङजेन, दावा पेमा, रिक्की ल्हामो, देकी छोमो, देकी साङ्मो, देकी ल्हामो, कर्साङ छेकी, दावा ल्हामो आदि नाच्थे । केटाहरुमा विजय लामा, पाल्दो वाङ्ज्यु, दावा लोप्साङ, छोवाङ ठिलेन, तेम्पा रिसाङ, डुधर्के, लामा सम्देन नाच्थे । विजय लामा, पाल्दो वाङज्यु र दावा लोप्साङले मादल पनि बजाउँथे ।

कक्षा ९ पुग्दासम्म दिदी किप्पा याङजेन र दाजु ल्हाक्पाले माध्यमिक शिक्षा पूरा गरिसक्नु भएकोले धुन्चेमा बसेर पढ्ने म एक्लै भएँ । पिताजीले मलाई उहाँका मावली माइलो मामा कर्पुदे घले (हजुरबा) को घरमा बसाएर पढाउनुभयो । हजुरबाको घरमा बस्दा म पूजा कोठा (क्षेखाङ) मा सुत्थेँ । क्षेखाङमाथिको गोरेटो बाटोसंगै कान्छा हजुरबा (याकर) को घरमा धुन्चेकै काकी नाता पर्ने निमदेकी घलेको चिया–नास्ता पसल थियो । उनको पसलमा जापानिज ब्राण्डको नेशनल पानासोनिक रेडियो–क्यासेट खुब बज्थ्यो । नेपाली फिल्मका गीतहरु चक्काबाट बज्थे । गाउँमा थोरैका घरमा मात्र रेडियो–क्यासेट हुन्थ्यो । त्यसैले समाचार सुन्न र गीत सुन्ने बेला अरुबेला भन्दा ठूलो आवाजमा बजाइन्थ्यो । यसले रेडियो–क्यासेट नहुनेका लागि पनि टाढैबाट सुन्न सकिने भएकोले फाइदै गर्थ्यो । म आफ्नो कोठामा बसीबसी सुन्थेँ । हजुरबाको घरमा मेरै नाम गरेको अर्को फुर्पा पनि बाख्रा हेर्न बसेको थियो । त्यो भाइले रेडियो र क्यासेटको गीति भाका टपक्कै टिपेर गाएर मलाई सुनाउने गर्थ्यो । म चाख लगाएर सुनिदिन्थेँ ।

एकदिनको कुरा हो । म कक्षा १० मा पढ्थेँ । हजुरआमा उहाँको माइती ठाडेमा जानुभएको थियो । घरमा खाना बनाउने कोही भएन । हजुरबाले भन्नुभो–“नाति, तिमी खाना पकाएर खाऊ । म भात खान्नँ ।“ त्यो दिन घरमा खाना पकाउने कोही भएन । एक्लै भएकोले पकाएर खाने जाँगर चलेन । माथि सडकतिर उक्लिएँ । राजेन्द्र भाइ भन्ने एकजना नुवाकोटतिरबाट पढ्न आएका थिए । उसको बाबु खानेपानीमा कर्मचारी थियो । आमाले भात पसल संचालन गरेको थियो । त्यहीँ गएर खाना खान्छु भन्ने सोचेँ ।

मैले राजेन्द्रकी आमालाई साहूनी‚ भात पाइन्छ? भनी सोध्दा छ भन्नुभयो । पसलभित्र एउटा टेबुलमा २–४ जना कर्मचारीहरु गितार बजाउँदै गीत गाइरहेको थियो । म उहाँहरुको टेबुल छेउमा गएर गीत सुन्दै खाना खाएँ । खाना खाएर पनि थप २–४ वटा गीतहरु सुनेर कोठातिर आएँ । मलाई रातभरि अघि सुनेका गीतहरुको धुन कानमा गुन्जिरह्यो । एकप्रकारको मिठास थियो । त्यस अघि मलाई त्यस्तो कहिल्यै भएको थिएन ।
एकदिन म फेरि राजेन्द्रको आमाको पसलमा खाजा खान गएँ । त्यो गीत गाउने समूहलाई फेरि गीत गाइरहेको देखेँ । नारायण गोपालले गाएको “साउनको झरी बनी, अल्झेछ क्यारे पछ्यौरी, म त लाली गुराँस भएछु, एउटा मान्छेको मायाले कति, दुईटा फूल देउरालीमा, जुन फूल मैले चाहेको थिएँ, तिम्रो जस्तो मुछु मेरो पनि…”

त्यसपछि पनि म कहिलेकाहीँ खाजा वा खाना खान जाँदा त्यो समूहलाई गीत गाएको देख्थेँ । म छेउमा बसेर सुनी बस्थेँ । गीत गाउने गायकले अलि लामो कपाल पालेको थियो । उनी लाम्चो अनुहार र दुब्लो थिए । उनी जिल्ला शिक्षा कार्यालयका मुखिया वा खरिदार भन्थे । घर थाहा भएन । उनको नाम “मनोज सर” भन्थ्यो । बोल्दा बिस्तारै मृदु आवाजमा बोल्थे । लजालु स्वभावको लाग्थ्यो । गितार बजाउने अलि मोटो शरीरको थियो । उनी नेपाल विद्युत प्राधिकारण धुन्चे शाखाको बिजुली हाकिम भन्थे । घर त्रिशूली हो रे । नाम मोहन सर भन्ने रहेछ । तर खासै चिनजान भएर कुराकानी चाहिँ भएको थिएन । यति परिचय राजेन्द्र भाइले बताएको थियो । अर्का २ जनाको नाम र परिचय मैले बिर्सिसकेछु । खासै भन्ने हो भने अरुहरु चाहिँ उहाँहरु दुईजनाले गाएका गीतमा सहयोगी भएर गाएका देखिन्थे ।

२०४८ सालको मंसीर महिनाको अन्त्यतिर म उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएँ । काठमाडौंमा बस्दा २०५१ देखि २०५४ सम्म रेडियो नेपालको फूलबारी सम्मेलनमा गीत गाउन रसुवाको प्रतिनिधि भएर स्वर परीक्षा दिन रेडियो नेपालको सिँहदरबारभित्र जाँदा ०५४ सालमा बाटोमा हिँड्दै गरेको अवस्थामा धुन्चेमा गीत गाउने मान्छे “मनोज सर”लाई देखेँ । मैले रोकेर तपाईं मनोज सर हो ? भनी सोधेँ । उहाँ एकछिन अकमक्किनु भयो र हो भन्नुभयो । अनि सोध्नुभयो–“तपाईंले मेरो नाम कसरी थाहा पाउनुभयो ? मैले धुन्चेमा देखेको हुँ । तपाई र मोहन सरले राजेन्द्रको आमाको पसलमा गितार बजाएर गीत गाउनुहुन्थ्यो । मैले यति भन्दा उहाँ छक्क पर्नुभयो ।

वि.सं. २०६४ सालको संविधानसभाको चुनाव पछि सिँहदरबारभित्रको संसद सचिवालयमा जाँदा मनोज गिरी सरसंग फेरि त्यहीँ भेट भयो । उहाँ त्यतिखेर संसद सचिवालयमा नेपाल सरकारको “उपसचिव” हुनुहुँदो रहेछ । मनोज सर छक्क पर्दै भन्नुभयो–“यार… तपाईले पुराना कुराहरु कसरी याद गर्नुहुन्छ फुर्पाजी ? अनि मैले उहाँलाई भनेँ– “मैले तपाईसंगै गितार बजाएर गाउने मोहन सरलाई पनि सम्झिन्छु । तर भेट भएको छैन । कारण गीत–संगीतको प्रभाव हो ।” मेरो कुरा सुनेर मनोज सरले मतिर हेरेर मुसुक्क हाँस्दै भन्नुभयो–“धन्यवाद फुर्पाजी ।”
मैले भनें– “केही होइन सर। गीत–संगीतको प्रभाव हो ।”

phurpatamang10@gmail.com

साभारः त्रिशूलीखबर साप्ताहिक

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस