आयुर्वेद चिकित्सालय नुवाकोटबाट अर्ध वर्षमा १७ हजार भन्दा बढीले सेवा लिए

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय तल्लो पिपलटार नुवाकोटबाट प्रथम अर्ध वर्षमा १७ हजार भन्दा बढी नागरिकले सेवा लिएका छन् ।
चिकित्सालयले विभिन्न ८ वटा शीर्षकमा रहेर सेवा प्रदान गर्ने गरेको छ । जसमध्ये बहिरंग सेवा लिने सेवाग्रही सबैभन्दा बढी रहेका छन् । बहिरंग सेवा ५ हजार ८ सय ६१, पूर्वकर्म सेवा १ हजार ३ सय ६७, अकुपंचर १ हजार ९४, प्याथोलोजी ल्याबबाट २ हजार ३ सय ९७ जनाले सेवा लिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले बताउनुभएको छ । चिकित्सालय प्रमुख डा. गिरीका अनुसार ५ हजार ४ सय ९२ जनालाई औषधी वितरण, ३ सय ८६ जना जेष्ठ नागरिक, ३ सय ५६ जनालाई उपचारात्मक योग र १ सय ३२ जनालाई जीवनशैली परामर्श प्रदान गरिएको छ ।
विसं २०५३ सालमा स्थापित चिकित्सालयले उपचारात्मक सेवा, लक्षित वर्गलाई विशेष सेवा, जनचेतनामुलक कार्यक्रम, प्रचारप्रसार मुलक कार्यक्रमको साथ जिल्ला भित्र रहेका आयुर्वेद तथा बैकल्पिक चिकित्सा सम्वन्धी संस्थाहरु एवं गतिविधिहरुको नियमन गर्दै आइरहेको छ । जिल्लाको ४ स्थानमा आरोग्य सेवा केन्द्र रहेको छ । म्यागङको सामरी, किस्पाङको काहुले, दुप्चेश्वरको समुन्द्रटार र शिवपुरीको शेराबगरमा रहेको आरोग्य सेवा केन्द्र संचालनमा भने कठिनाई हेदै गएको छ । संघिय सशर्त बजेटमा कटौती भएकोले नागरिक आरोग्य केन्द्र संचालन गर्न कठिनाई भएको डा. गिरीले बताउनुभएको छ ।
आरोग्य केन्द्र संचालन गर्नलाई स्थानीय सरकारले आवस्यक सहयोग गर्नुपर्ने देखिन्छ । जिल्लाको पञ्चकन्या गाउँपालिका, ककनी गाउँपालिका र सूर्यगढी गाउँपालिका बाहेक अन्य स्थानीय तहहरुमा आयुर्वेदको संस्थाहरु संचालन भइरहेको छ ।
त्यस्तै औषधिको विविधता तथा परिणाम आवस्यताभन्दा न्यून मात्र उपलव्ध हुने गरेको छ । उपलव्ध औषधिहरु ६ महिनामा नै सकिने अवस्था रहेको छ । अघिल्लो आर्थिक वर्षमा खपत हुने औषधीहरुको आधारमा चिकित्सालयमा औषधि उपलव्ध हुनुपर्ने र त्यसको लागि सरोकारवाला निकाय जिम्मेवार हुनु आवस्यक देखिन्छ ।
आयुर्वेद चिकित्सक डा. सविता तामाङले नुवाकोटको हकमा २ लाख ६३ हजार ३ सय ९१ नागरिकको माझमा १ वटा प्रदेश स्तरीय चिकित्सालय, ३७ हजार ६ सय २७ नागरिकको माझमा एक आयुर्वेद औषधालय, ६५ हजार ८ सय ४८ नागरिकको माझमा एक आरोग्य सेवा केन्द्र रहेको बताउनुभएको छ । त्यस्तै एक आयुर्वेद चिकित्सकले करिव ८७ हजार ७ सय ९७ जनालाई आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने अवस्था रहेको डा. तामाङको भनाई छ ।
आफूले पनि सेवा लिएको अनुभवको आधारमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट गुणस्तरीय सेवा प्रवाह हुने गरेको अनुभव प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइँसँग रहेको छ । नागरिकहरुमा आयुर्वेद प्रतिको विश्वास बढिरहेको समेत उहाँको भनाई छ ।
विदुर नगरपालिका– तल्लो पिपलटारमा २५ शैया क्षमताको आफ्नै चिकित्सालय भवन निर्माण भइसकेकोले अन्तरंग सेवा संचालनको लागि आवस्यक तयारी थालिने बताइको छ । भौगोलिक सुगमताको कारण अन्य जिल्लाबाट समेत सेवाग्राही आउन सक्ने, ठाउँठाउँमा नियमित सामुहिक योग अभ्यास हुने गरेकोले योग अभियान संचालन गर्न सकिने सम्भावना रहेको छ । जिल्लामा आयुर्वेद तथा योगको माध्यमबाट स्वास्थ्य पर्यटन प्रवद्र्धन र हावापानी अनुकूल जडिबुटी खेती गर्न सकिन्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस