Techie IT
गृहपृष्ठसमाचारसरकारप्रति प्रश्नपछि ओली–देउवा भेट : गगन थापा असन्तुष्ट

सरकारप्रति प्रश्नपछि ओली–देउवा भेट : गगन थापा असन्तुष्ट


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसमा मंगलबार (वैशाख २) झन्डै एक घण्टा लामो छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि सत्तासाझेदार दलका दुई नेताबीच भेटवार्ता भएको देउवाका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।

ओली र देउवाबीचको भेटवार्तालाई उनले ‘नियमित’ भने । “उहाँहरू (ओली र देउवा)बीच नियमित भेटवार्ता भइराखेकै छ,” उनले बाह्रखरीसँग भने, “यसलाई पनि त्यही रूपमा बुझ्नु ठिक हुन्छ ।”

प्रधानमन्त्री ओलीको निजी सचिवालयमा कार्यरत रामशरण बजगाईंले पनि नियमित भेटवार्ता भइरहेको बताए । आजको भेटलाई भने मिडियाले चासो दिएको उनको भनाइ थियो ।

 

“उहाँहरूबीच यसरी भेटवार्ता चलिरहेकै हुन्छ । आजको भेटका विषयमा तपाईंहरूको अलि बढी चासो देखियो,” बजगाईंले भने, “उहाँहरूबीच आज एक घण्टा भेटघाट भएको हो । योभन्दा लामो समय पनि उहाँहरूबीच छलफल हुने गरेका छन् ।” बजगाईंले भनेजस्तो भेटलाई चासोपूर्ण बनाउन कांग्रेस र एमालेकै नेताहरूको भूमिका छ ।

कांग्रेस–एमालेको सम्बन्ध ओली र देउवाबीचको भेटवार्ता र दुई नेताको व्यक्तिगत हार्दिकताले मात्र निर्धारण हुँदैन । कांग्रेसका दोस्रो तहका नेताहरूले सरकारका कामदेखि गतिसम्मका विषयमा प्रश्न उठाइरहेका छन् । यसले  सरकार अप्ठ्यारोमा परेको विश्लेषण भइरहेको छ ।

यही बेला सरकार सञ्चालन सहजीकरण संयन्त्रका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच रहने गरेको टिप्पणी गरेका छन् । सरकारका निर्णय तिनै बिचौलियाबाट प्रभावित हुने गरेको उनले बताएका छन् ।

“हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो,  नेतृत्वको बेडरुमसम्म हुने भयो,” थापाले भने, “मलाई अहिलेसम्म थाहा थिएन ।”

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जोकोही प्रधानमन्त्री तथा नेता बिचौलियाबाट प्रभावित हुने गरेको संकेत गरे । थापाले यस्ता गम्भीर आरोप लगाउँदै आफू सरकार र गठबन्धन नै फेर्ने पक्षमा भने नरहेको स्पष्टीकरण दिए ।

“सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ, गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ,” उनले आफ्नै विगतका प्रतिबद्धता सम्झँदै भने, “तर, अहिले त्यस्तो देखिएन । सुरुको चरणमा जोतिएर काम गरेको पनि हुँ । देशमा दैनिक माहोल बनाउन युद्धस्तरमा काम गर्नुपर्ने थियो । कताकता जोस र उत्साह नेतृत्वबाट भएन । हामी कसरी चिर्ने भन्ने अलमलमा छौँ । कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौँ ।”

सरकार सञ्चालन पद्धति उपयुक्त नभएको तर विकल्प खोज्दैनौँ भन्ने भनाइले आशंका बढाएको छ । उनको आशय के हो त ? थापानिकटहरू उनी संयन्त्रमा सक्रिय रहेको र त्यसलाई सहयोग गर्ने समूहले काम गरिराखेकाले सरकार ढलिहाल्ने अवस्था नरहेको बताउँछन् ।

संयन्त्रमा छलफल हुने, त्यहाँ समझदारी हुने तर निर्णय अर्कै आउने अवस्थालाई थापाले संकेत गरेको उनीनिकट नेताको भनाइ छ । “बिचौलिया कोको हुन् भन्ने पनि समाजमा देखिएकै विषय छ । तिनको सम्बन्ध कुनकुन नेतासँग छ भन्ने पनि देखिएकै छ,” गगननिकट एक नेताले भने, “तर, संयन्त्रमा भएको सहमति पालना हुँदैन । चार महिना बाँकी रहेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई नचलाऔँ भन्ने समझदारी भोलिपल्ट उल्लंघन हुन्छ । बिमा प्राधिकरण, स्टक एक्सचेन्जका नियुक्तिमा प्रश्न उठिरहेकै छन् । राष्ट्र बैंकमै अब हुने नियुक्तिले नेताहरूको अनुहार उदांगो बनाउने जोखिम बढ्दै छ ।”

त्यसो भए संयन्त्रमा बसेर किन काम गरिरहेका छन् त थापा ? ती नेताका अनुसार, संयन्त्र त्यागेर अघि बढ्ने कि भनेर थापाले एकपटक आन्तरिक छलफल पनि गरेका थिए । “यो गठबन्धन असफल हुँदा राम्रो सन्देश जाँदैन भनेर उहाँ सुधार गर्न सकिन्छ कि भनेर मिहिनेत गर्ने निर्णयमा पुग्नुभयो । तर, जुन जुन काम नगर्ने भनिएको हुन्छ, त्यही समझदारी रातारात.उल्लंघन हुन्छ,” ती नेताले भने, “एउटा पार्टीको जस्तै सरकार सञ्चालन छ । संयन्त्र बनाउनुको कुनै तुक रहेन भने संयन्त्र छोड्ने निर्णय नआउला भन्न सकिन्न ।”

एमालेका नेताले भने कांग्रेसको दोस्रो तहबाट सुरुदेखि नै आलोचना र टिप्पणी भइरहेको भन्दै सरकार ढल्ने वा गठबन्धन फेरिने अवस्था नरहेको बताउँदै आएका छन् । सोमबार (वैशाख १) पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका दोस्रो तहका नेताहरू दलभित्र निर्णायक नरहेकाले उनीहरूका आलोचनाले सरकार ढल्ने अनुमान नगर्न आग्रह गरेका थिए ।

यता, राजावादीले सरकार ढल्ने टिप्पणी गरिरहेका छन् । यही बेला सरकार परिवर्तन भए हिन्दु र राजसंस्थाका विषयमा कांग्रेसभित्र विवाद रहेको भन्ने प्रचार गर्न पाउने र आन्दोलनको थप माहोल बनाउन राजावादीलाई मद्दत पुग्न सक्छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त यसअघिदेखि नै सरकार छिटै ढल्ने बताउँदै आएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा चितवन पुगेका बेला उनले ०८२ सँगै सरकार पनि परिवर्तन हुने बताएका थिए ।

उनले हालसम्म आफूले गरेको अनुभवका आधारमा सबैभन्दा ठूलो पार्टीको नेतृत्वमा सरकार बनाइनुपर्नेमा जोड दिएका थिए । आफू बाहिर रहेर पनि कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिन तयार रहेको उनले उल्लेख गरेका थिए ।

१२ खरी बाट शाभार


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस