तातोपानीबाट भित्रिए सात अर्बका विद्युतीय गाडी

चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएको छ ।
चीनको खासा हुँदै दुई हजार ७२४ वटा विद्युतीय सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिएका हुन् । तीमध्ये सात सय वटा अहिले तातोपानी भन्सारमा जाँचपासका लागि राखिएको छ । अरू सबै जाँचपास भएर राजधानी पुगिसकेका छन् ।
भन्सारमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँचपास भएर राजधानी प्रवेश गर्ने छन् । यी विद्युतीय सवारीसाधान आयातबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व सङ्कलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो । विगतका वर्षभन्दा यस वर्ष उच्च दरमा विद्युतीय गाडी आयात भएकाले राज्यलाई राम्रो राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।
चालु आवमा चीनबाट तातोपानी नाकामा ठुलो विद्युतीय बस एउटा, ११ देखि १४ सिट भएका माइक्रो बस २८० वटा, १५ देखि २५ सिट भएका मिनी बस २४८ वटा, ५० किलोवाटका कार, जिप र भ्यान ३७० वटा, एक सय किलोवाटका एक हजार ५४४ वटा, दुई सय किलोवाटका २२९ वटा, तीन सय किलोवाटका दुई, तीन सय किलोवाटभन्दा माथिका एक र फोर ह्विलर विद्युतीय कार ४१ वटा आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
आयातित गाडीमा ओमोडा, डिपाल, लिपमोटर, जेक्रा, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडी नाका हुँदै राजधानी पुगेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस